बझाङमा हावाबाट २४ किलोवार्ट बिद्युत् निकालियो

बझाङः बझाङको थलारा गाउँपालिकामा हावाबाट २४ किलोवाट विद्युत् निकालिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १ करोड २४ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत् निकालेका हो । गाउँपालिकाको वडा नम्बर ४ र नजिकैका अन्य गाउँलाई विद्युत् सेवा पु¥याउन ठिङडाँडामा तीनवटा वायुपंखा राखेर हावाबाट बिजुली निकालिएको हो ।
जिल्ला सदरमुकाम चैनपुर र केदारस्यु र वित्थडचिर गाउँपालिकामा मात्र केही समयअघि राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । लघु जलविद्युत्बाट बिजुली निकाल्न लागत र समय बढी लाग्ने र नजिकैका खोलामा लघुजलविद्युत्का लागि पानी पर्याप्त नहुँदा हावाबाट बिजुली निकाल्ने प्रयास गरिएको संविधानसभा सदस्य लालबहादुर रावलको भनाइ छ ।
गाउँको ठिङडाडामा तीव्र गतिको हावा चल्ने र तीव्र गतिमा चल्ने हावाबाट विद्युत् निकाल्न सकिन्छ भन्ने थाहा पाएपछि वैकल्पिक ऊर्जासँग परामर्श गरेर हावाबाट विद्युत् निकालिएको रावलले बताउनु भयो । ठिङडाडामा निरन्तर हावा बहने हुँदा हावाबाट विद्युत् उत्पादनको राम्रो सम्भावना भएको उहाँको भनाई रहेको छ ।
अहिले विद्युत् उत्पादन भए पनि पोल र तार पर्याप्त नहुँदा सबै ठाउँमा विद्युत् लाइन विस्तारका गरिएको छैन । वायु ऊर्जामा प्रयोग हुने तार जलविद्युतको भन्दा फरक हुने र जनश्रमदान गर्नुपर्ने प्रावधान वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको हुँदा समस्या भएको स्थानीय दिनेश रावलले बताए । थप विद्युत् लाइन विस्तार र तार खरिदका लागि गाउँपालिकासँग माग गरिएको र सबै ठाउँमा लाइन विस्तार भएपछि करिब २ सय ५० घरधुरी लाभाम्वित हुने उनको भनाइ छ ।
विद्युत् नहुँदा उज्यालोबाट बञ्चित हुनुका साथै इलेक्ट्रनिक सामान प्रयोग गर्न नपाएका स्थानीय विद्युत् उत्पादनसँगै हर्षित भएका छन् । गाउँमा मोबाइल प्रयोगकर्ताको संख्या बढे पनि चार्ज गर्न समस्या थियो । जस्को घरमा सोलार छ त्यतै गएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता यहाँ थियो । हावाबाट बिजुली निकालेसँगै यो समस्या समाधान भएको अर्का स्थानीय महेश सायरले बताउनु भयो ।
ठिङकाडाँडामा ६० फिट अग्ला तीनवटा वायुपंखा छन् । हावाको गति मापन गर्नका लागि एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । वैकल्पिक ऊर्जाको रूपमा रहेको वायु ऊर्जालाई हावा वहने गाउँगाउँमा जडान गर्न सकिन्छ । सात वर्षअघि भएको एक अध्ययनअनुसार देशमा ३ हजार मेगावाट वायु ऊर्जा निकाल्न सकिने सम्भावना छ । पहाडका अग्ला डाँडा र नदीका खोँचमा निरन्तर हावा चलिरहने हुँदा जिल्लाका अन्य ठाँउहरूमा पनि हावाबाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ।