बलात्कारको मुद्दा मिलाउने ७ जना प्रहरी नियन्त्रणमा

रिदम सिंह, असोज २१ बझाङः जबर्जस्ती करणीको मुद्दा मिलाउन मिलेमतो गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । बझाङको मष्टा खिकालामा गत १९ साउनमा भएको जबर्जस्ती करणीको मुद्दा गाउँमै मिलोमतो गरेर ढाकछोप गरेको भन्दै प्रहरीले ७ जनालाई पक्राउ गरेको हो । मिलापत्र गराउनमा संलग्न मध्ये झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, धमकला दमाई, पिरु दमाई र गल्फे बोहरालाई लाई प्रहरीले असोज १९ गते नै पक्राउ गरेको भएपनि बुधबार थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मष्टा गाँउपालिका वडा नं. २ खिकालाका चट्टे दमाईका छोरा बाबाजी भनिने बालम दमाई रहेका छन् । पक्राउ परेका दमाईले नै उक्त सहमति कागज तयार पारेका प्रहरीले जनाएको छ । अहिले पक्राउ परेका सातै जनामाथी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लोकेन्द्र सिंह कार्कीले बताउनु भयो ।

                                                                                                                                                               बुधबार पक्राउ परेका अर्का आरोपी बालम दमाई

सम्झना कामीका हत्यारा राजेन्द्र बोहराले एक महिना अघि गाउँभन्दा तल खोलामा रहेको पानीघट्टभित्र सरिता कामी (नाम परिवर्तित) लाई बलात्कार गरेको भन्दै जाहेरी परेको छ । प्रहरीले यो घटनाबारे पीडितको बयान लिइसकेको छ । उनले बयानमा मरणासन्न हुनेगरी आफ्नो घाँटी चेपेको, अनुहारमा मुक्का प्रहार गरेको र कानमा भएका सुनका गहना दिने भए देउ नत्र मारेर खोलामा बगाइदिन्छु भन्दै जबरजस्ती करणी गरेको बताएकी छन् ।

सरिताका दाजुभाउजूले पनि तीन दिनपछि मात्रै गाउँमा हल्लाखल्ला भएपछि थाहा पाएको र राजेन्द्रका घरमा गएर कुरा गरेको बताएका छन् । कुराकानीका क्रममा राजेन्द्रका बुबाआमा र केही गैरदलित व्यक्तिले थामथुम पारेको बयान दिएका छन् । ‘साना भाइबहिनी हुन्, यत्ति हुनु त सामान्य हो नि’ भन्दै पीडित किशोरीलाई ५०० दिएर घटनालाई सामसुम पार्ने प्रयास भएको थियो ।