शहरमा तीजले वर्गविभेद बढायोः मन्त्री भट्टराई

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीज ग्रामीण क्षेत्रमा मानवीय सद्भावका साथ मनाइए पनि शहरमा वर्गविभेद बढाउने किसिमले मनाइने गरेको टिप्पणी गर्नुभएको छ ।

‘गाउँमा कसैको घरमा दर खाने व्यवस्था छैन भने छिमेकीले बोलाएर खुवाउने, मानवीय भावना देखाउने चलन अझै छ, तर शहरमा हुनेखानेले सम्पत्ति र सामथ्र्य देखाउने सामन्ती संस्कारका रुपमा यसलाई मान्दैआएका छन्’, साथी संस्थाले तीज २०७७ का उपलक्ष्यमा शुक्रबार करिब दुई सय सहभागीका बीच आयोजना गरेको भच्र्युयल अन्तरक्रिया कार्यक्रममा उहाँले सो टिप्पणी गर्नुभएको हो ।

उहाँकी जीवन संगिनी सहप्राध्यापक बिन्दा घिमिरेले थप्नुभयो, ‘तीज आउनुभन्दा तुई–तीन महिनाअघिदेखि पार्टी प्यालेस र महँगा होटेलहरुमा गहना र सम्पत्ति प्रदर्शन गर्ने नियतले भोजभतेर गर्नु विकृति हो, यसले सामाजिक सद्भाव बढाउने र मुलुकका लागि उत्पादनमूलक लगानी सिर्जना गर्ने कार्य गर्दैन ।’

शहरमा वल्लो कोठामा रमझम र हाँसो तर पल्लो कोठामा दुख र आँसुको अवस्था देखिन्छ, सम्पन्नले विपन्नलाई सघाउने समाजवादउन्मुख समाजको निर्माण गर्न संविधानले प्रतिवद्धता जनाए पनि व्यवहार विपरीत दिशातर्फ गएको उहाँहरुको आशय थियो ।

साथीका संस्थापक अध्यक्ष तथा सुप्रसिद्ध अधिकारकर्मी बन्दना राणाले सञ्चालन गर्नुभएको तीज शुभकामना आदान–प्रदान र समानता, सशक्तीकरण तथा हर्ष बढाउने अभिप्रायले आयोजित संवाद कार्यक्रममा आदर्श जोडीका रुपमा उद्यमी शेखर गोल्छा र उहाँकी श्रीमती सीमा पन्त तथा अभिनेता दम्पती स्वस्तिमा खड्का र निश्चल बस्नेतले पनि सम्बोधन गर्नुभएको थियो ।

समाजसेवी, अधिकारकर्मी र पत्रकारलगायतको सहभागिता रहेको तीज संवादमा अधिकांश वक्ताहरुले आफूले व्रत नलिए पनि व्रत लिनेलाई पनि उत्तिकै सम्मान गर्ने गरेको, मासिक श्राव बार्ने–नबार्ने आ–आफ्नो ईच्छाको विषय भएको वा दबाबको वातावरण बनाउन नहुने र सबैलाई समान तथा प्रतिष्ठित दृष्टिले हेर्नुपर्ने धारणा राखेका थिए ।

लैङ्गिक समानताका पक्षमा नेपालमा भएका सकारात्मक परिवर्तनको संरक्षण गर्दै पूर्ण र दिगो समानताका लागि निरन्तर लागिरहनुपर्ने सहभागीहरुको धारणा थियो ।  न्युज अफ नेपाल