गृह नगरमा रहेका सांसद रेग्मी द्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन

नहकुल जोशी, बाजुरा: भदौ ३ बुधवार विहानको अविरल बर्षा पछिको बाढी पहिरो प्रभावित क्षेत्रको प्रदेश शांसद बलदेव रेग्मीले स्थलगत अनुगमन गरेका छन । विहान भारी बर्षा भए पछि बुढीनन्दा नगरपालिका वडा नं ३, २, १ र ६ मा धनजनको समेत क्षति भएको छ । सो क्षतिको अवस्था अनुगमन गर्न सांसद रेग्मी सहित बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्ट्रि रेग्मी, वडा नं १ का अध्यक्ष नृपराज खत्री, वडा नं २ का वडाध्यक्ष भिमबहादुर कार्की, बुढीनन्दा नगरपालिकाका सूचना अधिकारी गोकर्णराज रेग्मी, पत्रकार अनिल शाही, नहकुल जोशी लगायतको सहभागिता सहित अनुगमन गरिएको हो ।

बाढीपहिरोले बुढीनन्दा नगरपालिका वडा नं ६ दैयाँका झिमु ल्वारको मृत्यु भएको छ भने सयौं हेक्टर जमिन बगरमा परिणत भएको छ । यतिबेला गृह नगरपालिकामा रहेका सांसद रेग्मीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै ठुलो मात्रामा खेती योग्य जमिनको क्षति भएको बताए । बाढीपहिरोका कारण वडा नं २ को खेतीयोग्य जमिनमा क्षतिभएको छ भने बड्डीगार्ड खोलाले वडा नं एकको बाँधु माद्यामिक विद्यालयको जमिन कटान गरी भवन समेत उच्च जोखिममा परेको छ ।

गयरातिको बर्षाले विद्यालयको गेट समेत भत्कीएको अवस्थामा छ भने कटान गरी रहेकाले विद्यार्थी अध्ययन गर्ने भवनमा समेत क्षति हुने अवस्था आयको विद्यालयका प्रधानाध्यापक नैनबहादुर कार्कीले गुनासो गरे । त्यस्तै कर्णाली नदी माथिको पिलुचौर पुलको जगन्नाथ गाउँपालिकाको क्षेत्रमा नदीले कटान गरी बाटो भत्काएको छ । उता बुनपा वडा नं ३ का अध्यक्ष रामबहादुर बोहोराले वडा नं तीनको क्षति ग्रस्त स्थानको अनुगमन गरिएको बताएका छन ।

उनले डोक्डाका ३ वटा घर उच्च जोखिममा परेको र अन्य २७ घर परिवार पूर्वपट्टीको सुरक्षित स्थानमा बसीरहेको बताए । त्यस्तै खुवाका २ वटा घर, कालगोठीका ३ वटा कुलो, नुरीको बृहत खानेपानीको सहायक ट्याङ्की र वडा नं ३ र ४ जाने गोरेटो बाटोमा समेत क्षति पुगेको बताएका हुन । उहाँले वडा नं तीन जाने रोडका कारण नभई माथिबाटै लेदो सहित बाढी आएको बताए ।