सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४९४१ पुग्यो, आज थपिए ६ जना

धनगढी : सोमवार सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, नेपाल प्रहरी अस्पताल र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा आज थप ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भेरी अस्पतालमा भएको परीक्षणमा कैलालीका दुई जनामा संक्रमण पुष्टि भएको बताए। उनका अनुसार नेपाल प्रहरी अस्पतालमा भएको परीक्षणमा अछामका एक जनामा पनि कोरोना देखिएको छ।

यता सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा चार सय तीन जनाको कोरोना परीक्षण भएकोमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ का १९ र २२ बर्षीय युवकमा संक्रमण पुष्टि भएको हो।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भने एक जनामा संक्रमण देखिएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालले एक सय ७९ जनाको कोरोना परीक्षण भएकोमा बैतडीको दशरथ चन्द नगरपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको बताए।

योसंगै सुदूरपश्चिममा कोरोना संंक्रमितको संख्या चार हजार नौँ सय ४१ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ७८ जनामा संक्रमण पुष्टि भएको छ। डोटीका सात सय ९२, अछाममा सात सय ३०, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ७५, डडेल्धुराका तीन सय १२ जना, बैतडीका दुई सय ९८, बझाङका दुई सय ९५ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेशमा चार हजार बढि संक्रमित निको भएर घर फर्किसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ।