कोरोनाको उच्च जोखममा बझाङ: चारदिनमा ९५ जनामा संक्रमण पुष्टी

बझाङ । पीसीआर परीक्षणको दायरा बढाएसँगै बझाङमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार एकै दिन ६६ जनामा संक्रमण देखिएको छ । क्वारेन्टाइनबाट घर पठाइएका धेरै जनामा संक्रमण देखिएकाले समुदायमा संक्रमण फैलिएको आशंका व्यक्त हुन थालेका छन् ।
केदारस्युँ गाउँपालिकामा मात्रै शुक्रबार २५ जना र शनिबार ४१ जना गरी घर पठाएका ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरू वडा नम्बर ६ र ७ का बासिन्दा भएको र उनीहरू सबै भारतको बैंग्लोरबाट नेपाल फर्किएको गाउँपालिकाले जनाएको छ । गाँउ पुगेका उनीहरुलाई फेरी क्वारेन्टिन र आइसोलेसनमा राख्न गाउँपालिका गरि रहेको गाँउपालिका अध्यक्ष इन्द्र बहादुर भण्डारीले बताए ।
संक्रमितहरू थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडा लगायतका गाउँका स्थानीय रहेको केदारस्युँ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष गणेश बोहराले बताए । उनीहरूलाई ८ देखि १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले नै घर पठाएको थियो । यद्यपि, घर गएका उनीहरू होम(क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरूलाई बेवास्ता गर्दै सामान्य मानिस झैँ समुदायमा घुलमिल भइसकेको स्थानीयले बताएका छन् ।
शनिबार केदारस्युँ गाउँपालिका वडा नं. ६ र ७ कै ४१ जना, मष्टा गाउँपालिका ३ जना, जयपृथ्वी नगरपालिकाका ६ जना, थलारा गाँउपालिकाका १० जना, दुर्गाथलीका ३ जना, र छबिसपाथिभेरा गाँउपालिकाका ३ जना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी मध्ये सेती प्रादेशिक अस्पतालमा २३ जना र जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ४३ जनामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार मात्रै बझाङका २७ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि १३ साउनमा वित्थचिर ६ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी ४ दिनका रिर्पोट हेर्दा बझाङमा ९५ जनामा संक्रमण देखिएको छ । हालसम्म जिल्लामा संक्रमितको संख्या १९१ जना पुरुष र ७४ महिला गरी २६५ पुगेको छ । जसमध्ये १ सय ६६ जना भने डिस्चार्ज भएर घर फर्किसकेका छन् ।


दुईवटा वडा सिलः
केदारस्युँ गाउँपालिकाका २ वडामा २ दिनको अवधिमा ६६ जनामा संक्रमण देखिएपछि वडाहरू सिल गरिएको छ भने गाउँपालिकाभर लकडाउन जारी भएको छ । केदारस्युँ गाउँपालिकाको ६ र ७ नम्बर वडाका ६६ जना संक्रमित १ हप्ताअघि घर पठाइएपछि फेला पर्दा समुदायमा फैलिएको हुनसक्ने भन्दै गाउँपालिकाको आकस्मिक बैठकले सिल गर्ने निर्णय गरेको हो ।
आइतबारदेखि लागू हुने गरी गाउँपालिकाको ६ र ७ का थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडा लगायतका गाउँलाई सिल गरिएको छ ।


गाँउपालिकामा फेरी लकडाउनः
गाँउपालिकाको ६ र ७ नं. वडामा ठुलो संख्यामा कोरोना संक्रमितहरु देखिएपछी गाउँपालिकाभर कडा हिसाबले लागू हुनेगरी लकडाउन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले बताए । गाउँपालिकाभरि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म मात्रै खोल्न दिइने र एक वडाबाट अर्को वडामा जानुपर्दा वडाध्यक्षको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरिएको उनले बताए ।
संक्रमितहरू समुदायमा घुलमिल भइसकेको हुनाले उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नलाई लागि स्वास्थ्यकर्मीहरू परिचालन गरिएको र संक्रमितहरूको सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको अध्यक्ष भण्डारीले बताए । परीक्षण गर्नका लागि २ सय थान भीटीएम किट गाउँपालिकामै मौजुद रहेको र अपुग किटका लागि स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको अध्यक्ष भण्डारीले बताए ।
समुदायसम्म पुग्यो कोरोनाः
संक्रमितहरू समुदायमा घुलमिल भइसकेको हुनाले संक्रमण समुदायस्तरमा फैलिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डा. मिलन खड्काले बताए । जिल्ला अस्पतालबाट नै १ हजार भीटीएम किनेर गाडी रिजर्भ गरी एक टिम समुदायमा कन्ट्याक्ट ट्रेसिङ गर्ने उनले बताए ।


उच्च जोखिम भएका ठाउँहरू पहिचान गरी १ महिनासम्म समुदायमै नमुना स्वाब संकलन गर्ने डा. खड्काको दाबी छ । उनका अनुसार सरकारबाट धेरै चेकजाँच नगर्न र क्वारेन्टाइनमा लामो समय नराख्न दबाब आएकाले यस्तो जोखिम बढेको हो । बझाङमा धेरैजसो संक्रमित लक्षण नदेखिएका हुनाले आइसोलेसनमा नै नबसेको उनले बताए । स्थानीय तहको पनि ठूलो लापरबाही भएकाले अझै जोखिम बढ्न सक्ने उनको आरोप छ ।