कैलालीका बाढी पिढित भन्छन् ‘‘चिउरा खाएर रात कटाउनु परेको छ”

वीरेन्द्र शाह, कैलाली । कैलालीका बाढी प्रभावित नागरिकको सडकमा बास भएको छ । बाढीले विस्थापित भएकाहरु पछिल्लो सयम सडकमा दयनीय जीवन बिताइरहेका छन् । सडकमा बास बसीरहेका नागरिकहरुलाई खाना र पानीको अभाव भएको छ । बढी जसो विस्थापित भएका महिला, बालबालिका र जेष्ठ नागरिक रहेका छन् । कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा भजनी नगरपालिकाका मात्रै १ हजार १५० परिवार विस्थापित भएर सडकमा बास बसिरहेका छन् ।


बाढीले घर जान सक्ने अवस्था नरहेकोले बुधबार विहानदेखि हुलाकी सडकमा बसी रहेको भजनी नगरपालिका ८ सोनाफाँटाका सुकै डगौरा थारुले बताए । घर पुरै डुवान भएकाले अन्नपात र सरसामान पनि नष्ट उनले बताए । घरमा जान नसक्दा दुई दिनदेखि भौकै रहेको उनले तितो दुखेसो पोखे । नगरपालिको दिएको चिउरा दिए पनि पानि नदिएको उनले बताए ।
बाढी प्रभावित बसेको हुलाकी सडक वरीपरी पानी भरिएको छ । उनीहरुले पिउने पानी नपाएको गुनासो गरेका छन् । घरमा चार फिट जति पानी जमेकाले वर्षौ लगाएर कमाएको सम्पत्ती पानीले बगायो उनले बताए ।
विस्थापित भएका सबैले हुलाकी सडकमा आश्रयस्थल बनाएर बसिरहेका छन् भने केही कृष्णध्वज चन्द माध्यमिक विद्यालयमा समेत बसिरहेका छन् । हुलाकी सडकमा ५ सय बढी परिवार आश्रय लिइरहेका छन् । हुलाकी सडकको कृष्ण नगरदेखि सोनाफाँटासम्मको उच्च स्थानमा बाढी पीडित विस्थापित परिवार बसिरहेको पीडित खेम पाण्डेले बताए । हुलाकी सडक नै हाम्रो लागि सुरक्षित स्थान भएकोले आफुहरु यो ठाउँमा आएको पाण्डेले बताए । पाण्डेले भने, ‘‘जीवनभरी कमाएको सम्पत्ती छोडेर सडकमा बास भएको छ । सडकमा भोकभोकै बस्न नागरिकलाई कठिन छ ।’’
हुलाकी सडकमा पानी र खानाको समस्या भएको कृष्ण चौधरीले बताउन्छन् । चौधरीको घरमा ८ फिट पानी पुगेको छ । अन्नपात सबै भिजेर नष्ट भयो । यतिखेर सडकमा सुरक्षित महसुस गरेका चौधरीको परिवारलाई भोकले सताएको छ । ‘‘बाढीपछि विस्थापित भएका कतिपयले बोक्न सक्नेजति अन्न र सरसामान सडकमै ल्याएका छन् । ग्यास चुल्हो भएकाले सडकमा पनि खाना पकाउन थालेका छन’’, चौधरी भन्नुहुन्छ, ‘‘कसैको केही बचेको छैन, उनीहरु भोकभोकै छन् । मेरो परिवारको पनि विचल्ली भएको छ ।’’
बाढी प्रभावितहरु खाना नभएपनि पानी समेत नपाएको गुनासो गर्न थालेका छन् । शुद्ध खाने पानी अतिआवश्यक रहेकोले पानीको व्यवस्था भए केही राहत हुने उनीहरु बताउँछन् । खानेपानीको लागि अहिले २ किलोमिटर टाढाबाट बोकेर ल्याएर काम चलाई रहेको चौधरीले बताउनुभयो ।
तत्कालका लागि भजनी नगरपालिकाले केही राहत वितरण गरिरहेको वडा नम्बर ८ का वडा वडाध्यक्ष पंकज चौधरीले बताए । पहिलो चरणमा बुधबार साँझ हुलाकी सडकमा बसिरहेकालाई चाउचाउ, भुजा र पानी वितरण गरेका वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
कति विस्थापित छन्, कुन कुन ठाउँमा बसेका छन् भन्ने लगत लिने कार्य शुरु भएको छ ।’’ वडाध्यक्ष चौधरीकाअनुसार अन्य निकायसँग समन्वय गरी राहत तथा स्वास्थ्य परीक्षण जस्ता कार्यलाई अगाडी बढाउने तयारी भइरहेको उहाँले बताउनुभयो । भजनी नगरपालिकाको वडा नं. २, ३, ५ र ७ मा गरी २ हजार एक सय ८० घर डुबानमा परेको नगरपालिकालले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार तीन दिन देखिको लगातारको वर्षाले ६ हजार बढी परिवार प्रभावित भएका छन् । वर्षापछि आएको वाढीले कैलालीको तल्लो तटीय क्षेत्रलाई बढी असर पारेको छ ।
बाढीले तल्लो तटीय क्षेत्रमा रहेका टीकापुर, भजनी नगरपालिका, जोशीपुर, जानकी, कैलारी गाउपालिका र धनगढी उपमहानगरपालिकामा बढी क्षति भएको छ । वाढीबाट टीकापुरमा नगरपालिकामा ८ सय २५ परिवार, भजनीमा दुई हजार एक सय ८० परिवार, जोशीपुर गाउपालिकामा दुई हजार तीन सय १५ परिवार, जानकी गाउँपालिकामा एक हजार परिवार डुबानमा परेका छन् । डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । विस्थापित परिवारलाई विद्यालय, सुरक्षित घर तथा उच्च सडकमा राखिएको छ । सुरक्षित स्थानमा राखिएकालाई खाना र पानीको जोहो गर्न स्थानीय तह जुटेका छन् ।