गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुस सहित पक्राउ

 वीरेन्द्र शाह, कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुस सहित पक्राउ परेका छन् । गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार घुस सहित पक्राउ परेका हुन् ।

मंगलबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको थियो । उनलाई स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए । नासु जोशीले सीपमूलक तालिममा सहजीकरण गरि दिने भन्दै सेवाग्राही बाट ८५ हजार रुपैयाँ घुस लिएको सूचना अधिकारी टोपबहादुर विष्टले बताए ।

घुस रकम अख्तियारको टोलीले सोमवार नै बरामद गरेको भए पनि उनी भाग्न सफल भएका थिए । मंगलवार भने विहानै पक्राउ गर्न सफल भएको अख्तियारका सूचना अधिकारी बिष्टले जानकारी दिए । थप अनुसन्धान भईरहेको आयोगले बताएको छ ।