कैलालीको एक जंगलमा २ युवतीको शव फेला

वीरेन्द्र शाह, धनगढी: कैलालीको एक जंगलमा २ युवतीको शव भेटिएको छ । जिल्लाको उपमहानगरपालिकाको ७ बेलीको जंगलमा २ युवतीको शव भेटिएको हो । जंगलमा धनगढी ७ कि १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको खुल्न आएको जानकारी दिए । शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी पनि फेला परेको र विष सेवन गरेर नै आत्महत्या गरेको हुन सक्ने उनले जानकारी दिए ।

दुवैको शव पोष्टमार्टमका लागि सेति प्रादेशिक अस्पतालमा लगिएको छ । दुवै युवतीहरू सँगै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।