स्थानिय तह बाट रकम जम्मा नहुँदा , बझाङमा पीसीआर मेसीन खरिदको काममा ढिलाई

सत्यराज सिंह – बझाङ  : स्थानिय तह बाट रकम जम्मा नहुँदा बझाङमा पीसीआर मेसीन किन्ने काममा ढिलाई भएको छ । बझाङका १२ वटा स्थानिय तह मध्ये जिल्ला समन्वय समिति, साईपाल र मष्टा गाउँपालिकाले मात्रै मेसीन खरिदका लागी खातामा रकम जम्मा गरेका छन । कतिपय स्थानीय तहमा लेखापाल नहुँदा पनि रकम संकलनमा ढिलाइ भएको छ ।

अस्पतालको खातामा सबै रकम जम्मा भएपछि मेसिन खरिद, जडान सञ्चालनको जिम्मा अस्पतालले लिएको छ । अस्पतालले आफूले गर्ने कामको तयारी गरिसकेको भए पनि रकम संकलन हुन नसक्दा मेसिन खरिदमा अन्यौल भएको हो जिल्ला अस्पताल बझाङका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सन्दीव ओखेडाले बताए । हाल स्वाब परीक्षण गर्न सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला धनगडी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउनु परेकोले रिपोर्ट ढीला आउने गरेको छ ।

रिपोर्ट ढिलो आए पछि ग्रामीण क्षेत्रमा कोरोनाको जोखिम बढेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बझाङको जेठ २६ गते बसेको बैठकले जिल्लाका सबै स्थानिय तह मिलेर पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका थिए । बैठकमा मेसिन खरिदका लागि नगरपालिकाले १५ लाख र गाँउपालिकाले १० तथा जिल्ला समन्वय समितिले १५ लाख दिने निर्णय गरेको थियो । उक्त रकम सबै स्थानीय तहले असार १ गते भित्रै जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गरिसक्नु पर्ने निर्णय गरेको भए पनि हाल सम्म रकम जम्मा नहुँदा खरिदमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी बताए ।