बझाङका दुई स्थानिय तहमा अझै बैंक स्थापना भएनन्

अर्थजंग शाही, बझाङ : जिल्लाका सबै स्थानिय तहमा बैंक स्थापना गर्ने सरकारले निती लिए पनि अझैपनि बझाङका दुई स्थानिय तहमा बैंक स्थापना गर्न सकेको छैन । स्थानीय सरकारको संरचना निर्माण भएपछि नेपाल राष्ट्र बैंकले शाखा पुग्न नसकेका स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने नीति लिएको थियो । वित्तीय गतिविधि सञ्चालन र स्थानीय क्षेत्रको वित्तीय पहुँच विस्तारको लागि भन्दै त्यसरी २ वर्षअघि नै प्रत्येक तहमा बैंकको शाखा खोलि सक्ने लक्ष्य लिइए पनि चालु आर्थिक वर्षमा पनि त्यो लक्ष्य पूरा हुन सक्ने आशंका गरिएको छ ।

बझाङको साइपाल र थलारा गाउँपालिकामा अझै बैंक स्थापना गर्न सकिएको छैन । पछिल्लो समय कोरोना भाइरसका कारण पूर्वाधारको व्यवस्थापनको काम समेत अघि बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म ७ प्रदेशमध्ये सुदुरपश्चिम प्रदेशमा दुई वटा स्थानीय तहमा वैंक विस्तार हुन सकेको छैन् ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङको साइपाल र थलारा गाउँपालिकामा अझै वैक। स्थापना हुन सकेको छैन । सबै बैंकहरुले शाखा विस्तार गर्ने तयारी गरे पनि पूर्वाधारको अभावका कारण यो सम्भव नभएको जनाईएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कुनै पनि बैंक स्थापना गर्नुअघि सो क्षेत्रमा आवश्यक पूर्वाधार पुग्नुपर्ने व्यवस्था रहेकोमा त्यो हुन नसक्दा शाखा खोल्ने प्रक्रिया पूरा हुन नसकेको बताए ।