बुङगल नगरपालिकाका १८ सहित बझाङमा १९ जनामा कोरोनाको संक्रमण पुष्टि

मकरराज धामी, बझाङ:  मंगलबार थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो संगै जिल्ला भित्र कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धनगडीमा गरिएको पीसीआर परीक्षणमा बुङगल नगरपालिकाका वडा नं १० का मात्र १८ जना कोरोना पुष्टि भएको छ ।

आजै एक जना थलारा गाँउपालिका वडा नं ४ का १२ बर्षिय बालक पनि रहेका छन । बुङगल नगरपालिकाका वडा नं १० का ६ बर्षिय बालिका र १८ बर्षिय एक किशोरी सहित १६ पुरुषमा कोरोना पुष्टि भएको छ । यो संगै बुङगल नगरपालिकामा संक्रमितको संख्या २१ पुगेको छ । सोमबार मात्र तीन जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु जेठ पहिलो साता भारत बाट आएको जनाईएको छ ।

पिसिआर रिपोर्ट पोजेटिभ आएकाहरुलाई अहिले कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यलय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशी जानकारी दिए ।