बजार अनुगमनमा ३ लाख २४ हजार बराबरको अखाद्य सामाग्री बरामद 

बैतडी – जनक साउद ः बैतडीमा सरोकारवालाहरुको संयुक्त बजार अनुगमन टोलीले बिभिन्न बजारहरुबाट ३ लाख २४ हजार ३ सय ४ रुपैया बराबरको अखाद्य सामाग्री बरामद गरी नष्ट गरेको छ । जेठ ३२ गते देहीमाण्डौ बजार अनुगमन गरी ६४ हजार बराबरको अखाद्य बस्तु बरामद गरि नष्ठ गरेको थियो । असार १ गते गोठलापानी बजार अनुगमन गरी १ लाख ४ हजार ७ सय ९८ बराबरको , असार २ गते  पाटन बजार अनुगमन गरी २९ हजार ८ सय बराबरको , असार ४ गते देहीमाण्डौ , गुरुखोला, मुस्याचौर र सतबाज बजार अनुगमन गरी २६ हजार ७ सय ६५ रुपैया बराबरको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले बताए ।

यस्तै असार ५ गते शाहिलेक, छेला र मल्लो छेला बजार अनुगमन गरी १२ हजार ६ सय ३० रुपैया बराबरको र असार ६ गते सतबाज, सिल्लेगाडा र खोचलेक बजार अनुगमन गरी ८६ हजार ५ सय ३१ रुपैया बराबरको बिभिन्न म्याद नाघेका तथा गुणस्तरहीन अखाद्य बस्तुहरु बरामद गरि नष्ट गरिएको हो । बरामद गरी नष्ठ गरिएको बस्तुहरुमा खासगरी बिभिन्न ब्रान्डका बिस्कुटहरु , चिउरा , आटा, सोयाबडी तरकारी, सुजी र सुर्तीजन्य बस्तुहरु रहेका छन । यस्तै बिभिन्न ब्रान्डका पेय पदार्थहरु बरामद गरी नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख लेखकले बताए ।

जेठ ३२ गतेबाट सुरु गरिएको बजार अनुगमन जारी रहेको छ । पछिल्लो समय बैतडीमा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमनलाई तिब्रता दिएको छ । जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय , स्वास्थ्य कार्यालय , खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग बिकास समिति र उद्योग बाणिज्य सघं बैतडीले बजार अनुगमन गरिरहेको हो ।