लागूऔषध चरेस सहित युवक पक्राउ

डडेल्धुरा: डडेल्धुरा प्रहरीले लागूऔषध सहित युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिक–६ का २२ वर्षीय धनसिंह धामी रहेका छन्।

इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी गस्तीले अवैध लागूऔषध चरेस कारोबार भइरहेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा धामीलाई पक्राउ गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

उनका अनुसार धामीले घरको भँइतलामा झोलामा २ किलो ५ सय ग्राम चरेस लुकाएर राखेका थिए। पक्राउ परेका धामीविरुद्ध लागूऔषध नियन्त्रण ऐन बमोजिम मुद्धा दर्ता गरेर जिल्ला अदालत डडेल्धुराबाट १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको डीएसपी न्यौपानेले जानकारी दिए।