सुदूरपश्चिममा आज १७ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा आज १७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार आज तीन जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको उनले बताए। कैलालीको धनगढी उप–महानगरपालिकाका ८ जना, लम्की चुहाका दुई जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ४७ पुगेको छ। हिजो ६८ जनामा कोरोना पुष्टि भएको बताईएपनि दुई जना अछामका संक्रमितको भने दोस्रो पटक परीक्षण गरीएकाले ६६ जना मात्रै नयाँ संक्रमित थिए।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय तीन जना, कञ्चनपुरमा ७३, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २०, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने ५२ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट तीन सय २१, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।