आरडीटी पोजेटीभ देखिएपछि स्वास्थ्यकर्मी माथि ढुङगामुडा प्रहार

अनिल शाही – बाजुराः  बाजुराको हिमाली गाउँपालिका वडा नं ५ कवाडीको क्वारेन्टीनमा बसेकाहरुले आरडीटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मी माथि ढुङगामुडा प्रहार गरेका छन । भारत लगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टीनमा वसीरहेका उनीहरुले आरडीटी रिपोर्ट पोजेटिभ आए पछि स्वास्थ्यकर्मी माथि ढुङगामुडा प्रहार गरेका हुन ।

उनीहरु क्वारेन्टीनमा बसेको १४ दिन पुरा भए पछि गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफै आरडीटी टेष्ट गर्न पुग्नु भएको थियो । केहि ब्यक्तिको आरडिटी टेष्ट गरी सकेपछि एक जना महिनाको आरडीटी रिपोर्ट पोजेटिभ आयो । जव महिलाको आरडटी रिपोर्ट पोजेटिभ आयो क्वारेन्टीनमा बसीरहेका उनीहरुले तैले किन आरडीटी रिपोर्ट पोजेटिभ निकालिस भन्दै स्वास्थ्यकर्मी माथि नै ढुङगामुडा प्रहार गर्नथाले ।

उनीहरुले प्रहार गरेको दुङगा लागेर स्वास्थ्य संयोजक भण्डारी घाइते हुनुभएको छ । भण्डारीको छातिमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भै रहेको प्राथमीक स्वास्थ्य केन्द्रका कोबिट १९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजंग शाहीले बताउनुभयो । स्वास्थ्य संयोजक भण्डारीको छातिमा निलडाम परेको छ र स्वास्थ्यकर्मी भण्डारी बोल्न सक्ने स्थितिमा नभएको उहाँले बताउनुभयो ।

उहाँको थप जाँच भइरहेकाले अवस्था अनुसार रिफर गर्ने नगर्ने बारे प्राथमिक स्वास्थ्य केन्द्रले पछि निर्णय गर्ने बताइएको छ । कोरोना भाइरसको जोखिम उच्च रहेका बेला क्वारेन्टीनमा बसेकाहरुबाटै स्वास्थ्यकर्मीमाथि ढुङगामुडा प्रहार भएको प्रति खेद प्रकट गर्दै हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उनीहरुलाई कानुन बमोजिम कारवाहि अगाडी बढाउने बताउनुभएको छ ।

हिमाली गाउँपालिका जस्तो दुर्गम ठाउँमा स्वास्थ्यकर्मी नै नपाइने ठाउँमा स्थानियले गरेको यस्तो ब्यवहार प्रति आफू दुखित भएको उहाँको प्रतिक्रिया छ । उता जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहिका लागि स्थानिय प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ । हिमाली गाउँपालिकामा विभिन्न तीन स्थानमा गरिएको परिक्षणमा आज ३ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।