देहीमाण्डौ बजार अनुगमन

जनक साउद,बैतडी । आईतबार बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ को देहीमाण्डौ बजार अनुगमन गरिएको छ । जिल्ला स्थित बिभिन्न सरोकारवाला निकायहरुको संयुक्त अनुमगन समितिले बजार अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय , स्वास्थ्य कार्यालय र खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले लकडाउनको समयमा संयुक्त बजार अनुगमन गरिएको हो । अनुगमन टोलीले देहीमाण्डौ बजारबाट बिभिन्न अखाद्य बस्तु , म्याद नाघेका र गुणस्तरहिन बस्तु बरामद गरि नष्ट गरेको छ । अनुगमन टोलीले २० कट्टा मैदा, सुची १४ कट्टा, २५ बोलत सस , सोयाबढी तरकारी २० कट्टा र चियापत्ती , चिजबल, कुरकुरे र पापड लगायतका जङ्ग फुडहरु बरामद गरि नष्ट गरेको हो । यस्तै अनुगमनका क्रममा बिडि, चुरोट, खैनी र गुट्खा लगायतका सामानहरु पनी बरामद गरेको छ । लकडाउनको समयमा म्याद नाघेका र अखाद्य बस्तु बिक्री भईरहेको, कालोबजारी भईरहेको गुनासो आए पछि संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो । देहीमाण्डौ बजार क्षेत्रका ब्यापारीहरुले ग्राहकले देख्ने गरी समानको दररेट पनी नराखेको पाईएको अनुगमन टोलीले जनाएको छ । चाडपर्ब लगायतका बिशेष समय बाहेक अन्य समयमा बजार अनुगमन नहुदा बैतडीका बिभिन्न बजारहरुमा ब्यापारीहरुको मनोमानी चल्ने गरेको छ । अधिंकास बजारहरुमा अखाद्य तथा गुणस्तरहिन बस्तुहरु बिक्रि बितरण हुने , तोकिएको मुल्य भन्दा ग्राहकहरुबाट बढी पैसा असुल्ने गरेको पाईएको छ । अहिले प्रत्येक स्थानिय तहहरुमा छुट्टै अनुगमन समिति बनाएर बजार अनुगन गर्नु पर्ने प्राबधान भए पनि बैतडीका स्थानिय तहहरुले बजार अनुगमन नगरेको पाईएको छ । अखाद्य तथा गुणस्तरहिन बस्तु र म्याद नाघेका बस्तुहरुको उपभोगमा ग्राहकहरु पनी चनाखो हुनुपर्ने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले बताए । यस्ता बस्तुहरुको उपभोगबाट स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै उपभोक्ता आफै सचेत हुनुपर्ने उनले बताए ।