ब्राजिलमा अमेरिकाको भन्दा बढी दैनिक मृत्यु र संक्रमण, बेलायतमा ३९ हजारको ज्यान गयो

काठमाडौँ, २१ जेठ । कोरोना भाइरस ९कोभिड– १९० महामारीको नयाँ केन्द्र बन्दै गएको दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पछिल्लो समय संयुक्त राज्य अमेरिकाको भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् ।

मंगलबार ब्राजिलमा एकै दिन २७ हजार २६३ जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना भाइरसकै कारण मंगलबार एक दिनमा १ हजार २३२ जनाको ज्यान गइसकेको छ । अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा मात्र नभएर दैनिक मृत्यु संख्यामा पनि विश्वकै पहिलो स्थानमा देखिएको छ ।

गत हप्ता संयुक्त राज्य अमेरिकाको भन्दा पनि बढी नयाँ संक्रमितहरू ब्राजिलमा देखिएका थिए, यो निरन्तर चलिरहेको छ । कुल कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा बुधबार बिहानसम्म जम्मा संक्रमित संख्या ५ लाख ५६ हजार ६६८ पुगेको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार २७८ पुगेको छ ।

उता विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण र मृत्युका केसहरु रहेको संयुक्त राज्य अमेरिकामा दैनिक मृतक संख्या अहिले पनि १ हजार हाराहारी नै छ । मंगलबार त्यहाँ भाइरस संक्रमणका कारण १ हजार १३४ जनाको मृत्यु भएको छ भने २१ हजार ८८२ नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा कुल संक्रमित संख्या १८ लाख ८१ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा १८ लाख ८१ हजार २०५ जनामा कोरोना संक्रमण फैलिसकेको छ । त्यहाँ अहिलेसम्म १ लाख हजार ८ हजार ५९ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । तर ६ लाख ४५ हजारभन्दा बढी निको समेत भइसकेका छन् । हाल त्यहाँ ११ लाख २७ हजारबढी मानिसमा भाइरस सक्रिय छ ।

यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये २ लाख ४० हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । त्यहाँ हाल २ लाख ८४ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ । ब्राजिलमा निको हुने दर अमेरिकाको भन्दा बढी छ ।

कोरोना संक्रमणका हिसाबले ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहे पनि मृत्युका हिसाबले भने अमेरिकापछि बेलायत दोस्रो स्थानमा छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण ३९ हजार ३६९ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ कुल संक्रमित संख्या २ लाख ७७ हजार ९८५ पुगेको छ ।

कोरोना संक्रमणको लहरमा स्पेन बेलायतभन्दा अगाडि छ । त्यहा अहिलेसम्म कुल संक्रमित संख्या २ लाख ८७ हजार १२ रहेको छ । यद्यपि पछिल्ला दिनहरूमा त्यहाँ नयाँ संक्रमणका केस न्यून हुँदै गएका छन् । मंगलबार भने दैनिक मृत्यु संख्या शून्यमा झरेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । मे २६ यता स्पेनमा नयाँ मृत्युका घटना नदेखिएको बताइएको छ ।

उता रूस कुल संक्रमणका हिसाबले तेस्रो लहरमा रहे पनि त्यहाँ मृत्युदर भने न्यून छ । रूसमा हालसम्म ४ लाख २३ हजारभन्दा बढी मानिस संक्रमित भए पनि जम्मा ५ हजार ३७ जनाले मात्र ज्यान गुमाएका छन् । त्यहाँ मंगलबार ८ हजार ८६३ संक्रमित थपिएका छन् भने १८२ जनाको मृत्यु भएको छ ।

यसैगरी विगत केही साताअघिसम्म महामारीबाट ग्रसित इटलीमा पनि अहिले दैनिक मृत्यु र संक्रमणका घटनामा उल्लेख्य कमी आएको छ । मंगलबार इटलीमा ५५ जनाको ज्यान गएको छ भने ३१८ नयाँ संक्रमित थपिएका छन् ।