धनगढीमा राहतको चामल आपूर्ति गर्ने फर्मलाई दुई लाख जरिवाना

धनगढी: धनगढी उप–महानगरपालिकालाई राहतको चामल आपूर्ति गर्ने फर्मलाई दुई लाख जरिवाना गरिएको छ। उप–महानगरपालिकालाई खाद्यान्न आपूर्ति गर्ने ठाकुर ट्रेड लिंकलाई दुई लाख जरिवाना गरिएको हो।

उप–महानगरपालिकाले बाडेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले विरोध गर्दै राहतको चामल फिर्ता गरेका थिए।

राहतको चामल कुहिएको फेला परेपछि जिल्लास्थित अनुगमन समितिले आपूर्तीकलाई दुई लाख जरिवाना गरेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका सूचना अधिकारी दीपक कुँवरले बताए।

कुवँरले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेबाफत २ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिए। सो आपूर्तिकर्ताले आपूर्ति गरेको वस्तु वितरण नगर्ने गरी रोक्का गरिएको जनाइएको छ।

स्थानीयले कुहिएको चामल दिइएको भन्दै फिर्ता गरेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरीस्थित गोदाममा समेत अनुगमन गरिएको थियो।

धनगढी उपमहानगरपालिकाले २ करोड ६१ लाखमा ३ हजार ३०० क्वीन्टल चामल, ८०० क्वीन्टल दाल लगायतका खाद्य सामाग्री खरिदका लागि ठाकुर ट्रेडसँग ठेक्का सम्झौता गरेको थियो।

आपूर्तिकलाईलाई कारवाही गरिएपनि टेण्डर आह्वान, सम्झौता र वितरणका क्रममा भएका अनियमितता बारे कुनै छानविन हुन सकेको छैन्।