बैतडीका सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती

बैतडी: अवैधरुपमा भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँगको सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती थालेको छ। भारतसँग सीमा जोडिएको जिल्लाको ६१ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्ती शुरु गरेको हो।

भारतबाट महाकाली नदीमा ट्युबमार्फत स्वदेश भित्रिनेक्रम नरोकिएकाले संयुक्त गस्ती शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। सीमाक्षेत्रमा अवैधरुपमा भित्रिन नदिन २४ घण्टा गस्ती गरिन लागिएको उनले बताए। यसअघि भारतसँग सीमा जोडिएका जिल्लाका छ ठाउँमा सशस्त्र प्रहरीले पोष्ट खडा गरी सुरक्षा दिइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए।

सीमा क्षेत्रमा संयुक्त गस्ती गरेर कडाइ गरिएको भनिए पनि सुरक्षाकर्मी छलेर नेपाल भित्रिनेक्रम भने रोकिएको छैन । गएराति मात्रै दुई जना दैलेखका र एक जना मुगुका गरी तीन जना महाकाली तरेर भित्रिएका छन्। उनीहरु दशरथचन्द नगरपालिका खडेनीबाट महाकालीबाट ट्युबमार्फत आएका प्रहरीले जनाएको छ।