नागरिकलाई भोको नराख्ने अध्यक्ष भन्डारिको भनाइ (भिडियो सहित)

खाद्यान्न भण्डारण गरेको देखाउँदै केदारस्युँ गाँउपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी ।

रमेश के सी बझाङ : देशमा भैरहेको लकडाउनको बेला आफ्नो पालिकाभित्रका नागरिकहरुलाई भोकमरी हुन नदिन केदारस्युँ गाउँपालिकाले खाद्यान्न भण्डारण गरेको छ । पहिलो चरणमा विपन्न गरिब परिवारहरुलाई खाद्यान्न वितरण गरेको गाउँपालिकाले अहिले भोकमरीलाई मध्यनजर गर्दै खाद्यान्न भण्डारण गरेको हो ।

नौ वडा रहेको गाउँपालिकाभित्र दुई हजार परिवारलाई राहत विरण गर्ने लक्ष्य भएको बताउँदै गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भन्डारीले लकडाउन लम्बिन सक्ने हुँदा खाद्यान्न खरिद गरी भण्डारण गरेको बताए । गाउँपालिकाले पहिलो चरणमा ३०० परिवारलाई खाद्यान्न वितरण गरिसकेको र पुनः खाद्यान्न सकिएका घरपरिवारमा खाद्यान्न दिने योजना रहेको बताए ।

पालिकाले कार्यालयको सभाहलमा खाद्यान्न स्टोर बनाएर ३०० क्वीन्टल चामल, ६० क्वीन्टल दाल ११५ क्वीन्टल नुनसहित ३३६ पेटी तेल जम्मा गरेर राखेको छ । पालिकामा लकडाउनको बेला मजदुर काम गरेर खाने, गरिब परिवारहरुलाई खाद्यान्न राहत दिनका लागि प्रदेश सरकारबाट २५ लाख आएको छ ।

केदारस्युँ गाँउपालिकाले स्थानियका लागी राहत बाड्न भण्डारण गरी राखेको खाद्यन्न

थप प्रदेशबाट आएको ३ लाखसहित पालिकाको ५ लाख गरी कुल ३३ लाख रुपैयाँ खर्चको जोहो गरेको वताए । केदारस्युँ गाउँपालिकाको भामचौर, भैरवनाथ, रायल र बाँजका उच्च पहाडी बस्तीमा खाद्यान्न अभाव हुने भएकाले देशमा भएको लकडाउनले कामकाज गर्न नपाएर यी बस्तीमा खाद्यन्न समस्या हुन सक्ने अनुमान गरिएको छ ।

‘अन्य पालिकाभन्दा हाम्रो पालिकाभित्र यस अगाडि पनि खाद्यान्न समस्या छ । गाउँपालिकाका कर्मचारी लेखराज रावलले भने, ‘लकडानको समयमा पालिकाभित्रका कुनै पनि मानिस भोकै बस्न नपरोस भनेर खाद्यको मौजात गरिएको हो ।’ गाउँपालिकाभित्रका बस्तीहरुमा पनि विहान र बेलुका दुई दुई घण्टा खाद्यान्न पसलहरु खुलाउने ब्यवस्था गरिएको छ ।

केदारस्युँ गाँउपालिकाले स्थानियका लागी राहत बाड्न भण्डारण गरी राखेको खाद्यन्न

पालिकामा रहेका बागथला र गर्जेपानी गरी दुई वटा क्वारेन्टाइनमा २३ जना रहेका छन् । कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि लकडाउन नै विकल्प भएको हुँदा केहि महिना लकडाउन लम्ब्याए पनि नागरिकमा भोकमरी हुन नदिने गाउँपालिका अध्यक्ष भन्डारीले बताए ।

१० वटा गाउँपालिका र २ वटा नगरपालिका रहेको बझाङमा केदास्युँ र वित्थडचिर गाउँपालिका तथा बुंगल नगरपालिकाका मानिसहरु झुलाघाट नाकाबाट मानिसहरु आएका हुँदा यी पालिका बढी जोखिम मानिन्छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि आफ्ना नागरिकहरुको पेट भोको नरहोस् भनेर खाद्यान्न वितरण गरिरहेका छन् ।