लकडाउन फेरि लम्बिने संकेत, कस्तो बनाउने भन्ने निर्णय लिन आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ: कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भनेर करिब डेढ महिनादेखि जारी रहेको लकडाउन फेरि लम्बिने देखिएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएपछि खुकुलो पार्ने भनिएको लकडाउन पुनः कडा बनाउने सरकारको तयारी रहेको छ । स्रोतका अनुसार पुनः कम्तीमा एक साता वा सोभन्दा बढी लकडाउनको अवधि थप गर्नेबारे तयारी भइरहेको छ ।

यसैका लागि निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेका लागि बोलाइएको बैठकले लकडाउनको अवधि तथा स्वरुपबारे निर्णय लिनेछ । यसअघि मंगलबार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडाउन तत्काल खुकुलो पार्न नसकिने र अवधि पुनः थप्नुपर्ने निष्कर्ष सहित सरकारलाई प्रस्ताव गरेको छ ।

यसबारे प्रधानमन्त्री तथा गृहमन्त्रीबीच पनि मत बाझिएको स्रोतको भनाइ छ । गृहमन्त्री रामबहादुर थापाले लकडाउन यथावत जारी रहेमा जनतामा तीव्र असन्तुष्टि हुने र आर्थिक संकट बढ्ने भन्दै यसको स्वरुप फेर्नुपर्ने बताएका छन् । उनले उच्च जोखिमका क्षेत्र पहिचान गरेर जोन छुट्याएर लकडाउन खुकुलो वा कडा बनाउने धारणा राखे पनि प्रधामन्त्री केपी शर्मा ओली भने यसमा मौन रहेको बुझिएको छ । प्रधानमन्त्री ओलीले लकडाउन कडा बनाउने पक्षमा अडान यथावत राखेको बताइन्छ । यद्यपि यसबारे आजको मन्त्रिपरिषदले ठोस निर्णय लिनेछ ।