कोरोना भाइरसका कारण मुलुक ‘जटिल अवस्थामा’, लकडाउन यहीरुपमा थप्न समितिद्वारा सरकारलाई सिफारिस

काठमाडौं: कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक मुलुक जटिल अवस्थामा रहेको निष्कर्ष निकालेको छ । जटिल अवस्थाका कारण लकडाउन यही रुपमा अगाडि बढाउन पनि बैठकले सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वैठकले कोरोना भाइरस संक्रमितको बढ्दो अवस्थाका कारण मुलुक जटिल अवस्थामा रहेको निष्कर्ष निकालेको हो । बैठकले लकडाउन यहीरुपमा अगाडि लानु पर्ने निष्कर्ष निकाल्दै सरकारलाई लकडाउन थप्न सिफारिस गरेको छ । तर कति दिन थप्ने भन्ने विषयमा भोलि बोलाइएको मन्त्रिपरिषद्को वैठकले निर्णय गर्ने बताइएको छ ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार कोरोना भाइरसको संक्रमण र यस्ले निम्त्याएको समस्याका कारण मुलुक जटिल अवस्थाबाट गुज्रिरहेको निष्कर्ष बैठकले निकालेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन नै मुख्य उपाय भएको भन्दै बैठकले लकडाउन थप गर्न पनि सिफारिस गरेको ती मन्त्रीले न्यूज २४ लाई बताए ।