कोरोना आशंकामा सेती अस्पताल भर्ना भएका तीन जनाको रिपोर्ट नेगेटिभ

धनगढीः कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ। दुई जना कैलाली र एक जना कञ्चनपुर गरी तीन जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

कैलालीको जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ बर्षीय पुरुष र उनकी ८ बर्षकी छोरीलाई पनि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा दुबै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाकी १८ बर्षीय युवतीको रिपोर्ट पनि नेगेटिभ आएको छ। अस्पतालका सूचना अधिकारी श्रेष्ठले हिजो साँझ आईसोलेसनमा थप एक जनालाई भर्ना गरिएको बताए। कालिकोटको शुभकालिका गाउँपालिका घर भई हाल कैलालीको अत्तरियामा दाईसंग बस्दै आएका २१ बर्षीय पुरुषलाई आईसोलेसनमा राखिएको हो।

उनको थ्रोट स्वाब भने आज मात्रै संकलन गरिनेछ। सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय कोरोना संक्रमित महिलाको पनि उपचार भईरहेको छ। उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रादेशिक अस्पतालले जनाएको छ।