लकडाउन अवधिसम्मको व्याज मिनाह गर्न बझाङका व्यवसायीको माग

बझाङ: उद्योग वाणिजय संघ बझाङले लकडाउन अवधिसम्मको व्याज मिनाह गरिदिन सरकारसँग आग्रह गरेको छ । विभिन्न व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋणको व्याज मिनाह गरिदिन संघले माग गरेको हो ।

देशमा जारी लकडाउनले व्यापार व्यवसाय ठप्प भएको बताउँदै संघले लकडाउन अवधिभर व्यवसायीको बैंकमा भएको ऋणको व्याज मिनाह गर्न व्यवस्था मिलाउन माग गरेको हो ।

संघले एक ज्ञापनपत्र जारी गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय काठमाडौंमा पठाएको हो ।

संघका अध्यक्ष दान बहादुर सुर्मेलीले व्यवसायीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको किस्ता र व्याज तिर्न नसकेर समस्यामा परेको बताए । उनीहरूको सहजको लागि सरकारले लकडाउन अवधिसम्मको व्याज मिनाह गर्नुपर्ने उनको भनाइ छ ।

उनले सरकारले व्याज मिनाहको गर्न नसके व्यवसायीको व्यवसाय नै धरापमा पर्ने सक्ने र ठूलो समस्यामा पर्न सक्ने बताए । साथै, संघले सरकारले घरधनीले एक महिनाको घर भाडा छुट दिनु पर्ने निर्णय पनि सरकारले कडाईका साथ लागु गर्ने पत्रमा उल्लेख गरिएको छ ।